शनिबार, असोज १५, २०७९

माघ १४ गते कोभिड १९ विरुद्धको पहिलो चरणको खोप अभियान शुरु गर्ने

फ्ल्यासन्युज नेपाल२०७७ माघ १२ गते ९:०८

काठमाडौं ।  सरकारले माघ १४ गते पहिलो प्राथमिकतामा रहेका व्यक्तिलाई खोप लगाएर कोभिड १९ विरुद्धको खोप अभियान शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रेस व्रिफिङमा स्वास्थ्यमन्त्री ह्रद्यश त्रिपाठीले माघ १४ गते बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गर्ने जानकारी दिएका हुन् ।

सो अभियानमा सातै प्रदेशका अस्पताल र काठमाण्डौंमा रहेका प्रमुख अस्पतालहरु भर्चुअल विधिबाट प्रत्यक्ष जोडिने स्वास्थ्य मन्त्री त्रिपाठीको भनाई थियो । पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने सरकारको तयारी रहेको मन्त्री त्रिपाठीले जानकारी दिए ।

विश्वभर खोपको माग अत्यधिक रहेका बेला सरकारको अथक प्रयास र भारत सरकारको सद्भावका कारण प्राप्त खोपको समयमै सही सदुपयोग गर्नुपर्ने मन्त्री त्रिपाठीको भनाई थियो । खोपलाई समुचित प्रयोग र खेर जाने सम्भावना न्युन गर्न पनि उहाँले निर्देशन दिनुभयो । विश्व प्रख्यात कम्पनीले खोप उत्पादन गरेको भन्दै मन्त्री त्रिपाठीले निर्धक्क भएर खोप लगाउन आग्रह गरे ।

दक्षिण एशियाली कतिपय मूलुक, युरोप र दक्षिण अमेरिकाका देशमा सोही खोप लगाइररहेकाले खोपको प्रभावकारिताका बारेमा अन्यौल नराख्न पनि उनले आग्रह गरे । लक्षित समूहले मात्र खोप लगाउन पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक व्यवस्था पनि सरकारले मिलाएको छ । खोप केन्द्र रहेको संस्था प्रमुख र स्वास्थ्य कार्यालय प्रमुखले सोको सुनिश्चितता गर्नेछन् । खोप अभियानको अनुगमन जिल्ला कोभिड १९ खोप अनुगमन समितिले गर्नेछ । पहिलो चरणको खोप अभियान सफल भए मात्र दोश्रो र तेश्रो चरणमा सञ्चालन हुने खोप अभियान सफल हुने मन्त्री त्रिपाठीको भनाई थियो ।

पहिलो चरणमा सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालकहरु, एम्बुलेन्स तथा शव वाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयमसेवक, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयमसेवक तथा सेविका, अन्तराष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी, वृद्धा आश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई खोप दिने सरकारको तयारी छ ।

तपाइँको प्रतिक्रिया