काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले चुनावले झन् ठूलो दुर्घटना निम्त्याउने बताएका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रतिनिधिसभा विघटन र घोषित निर्वाचनको विरोधमा लेखेका छन्, ‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ। पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ।’ प्रतिनिधिसभा विघटन गरेसँगै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा निर्वाचन समेत घोषणा गरेका थिए।

साथै, विगतका राजनीतिक घटनाक्रमसमेत याद गर्न भन्दै उनले लेखेका छन्, ‘२०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौँ। २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौँ!’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधिसभा भंग गर्नुलाई प्रतिगमन र असंवैधानिकको संज्ञा दिँदै जसपा आन्दोलनरत छ।