शनिबार, असोज १५, २०७९

एकै साथ नेपालका तीन सय अस्पतालबाट कोरोना खोप दिइने

फ्ल्यासन्युज नेपाल२०७७ माघ ११ गते ९:०६

काठमाडौं । नेपालमा आगामी बुधबारवाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु हुने भएको छ । सरकारले माघ १४ गते औपचारिक कार्यक्रमका बीच देशभर पहिलो चरणको खोप अभियान शुरु गर्न लागेको हो ।

त्यसका लागि सातवटै प्रदेशमा आवश्यक मात्रामा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबारसम्म दुईवटा प्रदेशमा खोप पुगेको छ ।

आज विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा खोप पुग्नेछ । प्रदेश दुईमा भने खोप स्टोरेज गर्ने स्थान नभएकाले त्यहाँका जिल्लामा हेटौँडाबाट खोप आपूर्ति गर्ने योजना बनाइएको छ ।

सात प्रदेश र ७७ जिल्लामा गरी करिब तीन विभिन्न अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पताबाट खोप वितरण गरिने मन्त्रालयले जनाएको छ ।

सो खोप स्वास्थ्य संस्थामा कार्यरत कोरोना व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ । दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको चार हप्तापछि दोस्रो मात्रा दिइनेछ ।

भारत सरकारले बिहीबार अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । कोभिशिल्ड खोप ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोरोना विरुद्ध खोप लगाउने सरकारी योजना छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक अन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । बाँकी ५२ प्रतिशत खोप खरिद गर्ने तयारी छ ।

तपाइँको प्रतिक्रिया