‘पोयट्री पटरी’ मा रंगकर्मीका कविता
काठमाडौँ। कीर्तिपुरस्थित थिएटर मलमा रंगकर्मीहरूले विभिन्न विषयमा लेखिएका कविताहरू वाचन गरेका छन्। ‘पोयट्री पटरीः रंगकर्मीका कविता’ नामाक कार्यक्रममा १५ जना रंगकर्मीहरूले कविता सुनाएका थिए।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अशोक थापा, मण्डला थिएटरका अभिषेक शर्मा, ईंही होपो कोइच, विजय नेपाल, बच्चु हिमांशु, विकाश पन्त, सरस्वती अधिकारी, भूमिका थारु, सुवास सुवेदीलगायत रंगकर्मीहरूले कविता वाचन गरे।
थिएटर हबको संयोजनमा माघ १ गतेदेखि रंगकर्मीहरूले नेपालभर चालु अवस्थामा रहेका नाटक घरहरू क्रमबद्ध रूपमा खोलेका छन्। यसैक्रम माघ ९ गते, अन्तिम दिन थिएटर मलमा सो कार्यक्रम आयोजनासँगै नाटक घरको ढोका खुलेको जानकारी सार्वजनिक गरिएको छ।
थिएटर मलका अध्यक्ष केदार श्रेष्ठले आफ्नो रचना, कविता ‘बच्चा भएर बाचौं’ वाचनसँगै कार्यक्रम सुरु गरे। झन्डै ४० जना रंगकर्मी एवम् अन्य दर्शकको कार्यक्रममा उपस्थित रह्यो।
अधिकांश रङ्गकर्मी कवितासँग नजिक रहने भएकाले उनीहरूमा पनि काव्यिक प्रतिभा हुन्छ। त्यसैलाई उजागर गर्न यस्तो कार्यक्रम गरिएको थिएटर मलका निर्देशक केदार श्रेष्ठले बताए।
केदारका अनुसार यसको अर्को शृङ्खला सन् २०२१ भित्रै अथवा सन् २०२२ सम्म आयोजना हुनेछ। ‘आवश्यकता परे अथवा हामीलाई कविता सुनाउन मन भए त्योभन्दा छिट्टै पनि हुनसक्छ,’ उनले भने।
कीर्तिपुर रंगमञ्चको डबलीमा आयोजित ‘पोयट्री पटरीः रंगकर्मीका कविता’को यो चौथों शृङ्खला हो। यसको पहिलो शृङ्खला ४ वर्षअघि थिएटर मलको अस्थायी ठेगाना रविभवनस्थित रातो घरको डबलीमा भएको थियो।
अघिल्लो वर्षदेखि थिएटर मल रंगकर्मीहरूको कविता संग्रह निकाल्ने तयारीमा छ। यसको लागि उनीहरू छिट्टै कविता आवाहन गर्ने केदारले बताए।
त्यस्तै नाटक घरमा नाटक देखाउने सन्दर्भमा उनी भन्छन्, ‘नयाँ नाटक कहिले देखाइन्छ भन्ने टुङ्गो भएको छैन। तर अब हामी कार्यशालाको लागि तयार छौं।’
झन्डै १ घण्टाको कार्यक्रम केदारले आफै लेखेका कविता ‘आमा विरुद्ध’ वाचनसँगै समापन गरे।