शनिबार, मंसिर २४, २०७९

सुवास खनालको ‘सपनाका अवयव’बारे हेटौँडामा अन्तर्क्रिया

फ्ल्यासन्युज नेपाल२०७७ माघ १० गते १२:०१

मकवानपुर। साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ‘सपनाका अवयव’ माथि अन्तर्क्रिया कार्यक्रम न्युजक्लबको सभाहल हेटौँडामा सम्पन्न भएको छ।

कविता लेखनमा निरन्तर क्रियाशील खनालको यसअघि २०७१ सालमा ‘विचारको उल्टो नदी’ नामक कविता कृति प्रकाशित छ। उनको दोस्रो कृति सपनाका अवयव शाब्दिक बुक्सले बजारमा ल्याएको हो।

कृतिबारे बोल्दै समीक्षक घनश्याम घिमिरेले खनालको लेखन समयसचेत र प्रभावपूर्ण रहेको बताए। उनी झिना विषयको उठान गरेपनि गम्भीर भाव पैदा गर्ने शैलीको लेखक रहेको उनको धारणा रह्यो। कार्यक्रममा बोल्दै प्रलेस मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दनाले कविको लेखनको भाषा सरल र गम्भीर रहेको बताइन्।

साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा एस के निधन र दीपक गौतमले पनि कृतिबारे धारणा राखेका थिए । सङ्गम सचिव डी.बी. बर्तौलाले सहजीकरण गरेको सो कार्यक्रममा कृतिकारले आफ्नो धारणा राख्दै लेखन यात्रामा दोस्रो कृतिसम्म आइपुग्दा कविता लेखन गम्भीर र चुनौतीपूर्ण रहेको विचार व्यक्त गरे ।

सङ्गम कोषाध्यक्ष सानूबाबू खनालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सभाध्यक्षता साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले गरेका थिए ।

तपाइँको प्रतिक्रिया