शुक्रबार, असोज २१, २०७९

दुई दिनभित्र खोप लगाउने व्यक्तिको विवरण पठाउन स्वास्थ्य संस्थालाई निर्देशन

फ्ल्यासन्युज नेपाल२०७७ माघ १० गते ११:५५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ ।

खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी दुई दिनभित्र पठाउन सबै स्वास्थ्य संस्थालाई मन्त्रालयले निर्देशन दिएको हो ।

संघ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेबसाइटमा लगाइने गरी तोकेको ढाँचामा विवरण विद्युतीय प्रणालीमा पठाउन निर्देशन दिइएको हो । विवरण प्राप्त भएपछि भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउने प्रक्रिया अघि बढने बताइएको छ ।

स्वास्थ्य संस्थामा कार्यरत कोरोना संक्रमितको व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालकलाई पहिलो चरणमा खोप दिने तयारी छ ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाईकर्मीलाई पहिलो चरणमा खोप लगाउने तयारी गरिएको छ ।

अहिलेसम्म ५० हजारभन्दा बढी खोप लगाउने व्यक्ति सूचीकृत गरिएको छ । भारत सरकारले कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड बिहीबार १० लाख मात्रा सरकारलाई उपलब्ध गराएको थियो ।

तपाइँको प्रतिक्रिया