काठमाडौँ। कांग्रेसका सभापति शेरबहादुर देवामाथि प्रदेश सभामा केपी ओली पक्षलाई सहयोग नगर्न दबाब परेको छ।

केन्द्रीय सदस्यहरु तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रदेशको सत्ता समीकरणमा केपी ओली पक्षलाई साथ दिनुपर्ने कुनै कारण नभएको सुझाव दिएका छन्।

शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा देउवाले डाकेको बैठकमा प्रदेशको सत्ता समीकरणबारे छलफल भएको हो। बैठकमा वरिष्ठ नेता पौडेलसहित बागमती प्रदेशका केन्द्रीय सदस्यहरु सहभागी थिए। सभापति देउवाले प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आएको जानकारी गराएका थिए।

प्रदेश १ र बागमती प्रदेशमा नेकपाकै प्रदेश सभा सदस्यहरुले त्यहाँका मुख्यमन्त्रीहरु शेरधन राई र डोरमणि पौडेल विरुद्ध अविश्वास प्रस्ताव राखेका छन्।

नेकपाका दुई पक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले कांग्रेसको साथ खोजेका छन्। दुवै पक्ष एक प्रदेशमा मुख्यमन्त्री लिन र अर्कोमा सघाउन प्रस्ताव राखेको विषय देउवाले अवगत गराएका थिए।

देउवा स्वयंले भने ओली पक्षको प्रस्तावमा रुची देखाएका छन्। कांग्रेसका बहुसंख्यक प्रदेश सभा सदस्यहरु ओलीलाई समर्थन गर्नु हुँदैन भन्ने पक्षमा छन्। साथै, केन्द्रीय समितिका बहुसंख्यक पनि त्यही पक्षमा छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको र उक्त कदमविरूद्ध कांग्रेस आन्दोलनमा रहेकाले प्रदेशमा ओलीनिकटलाई सहयोग गर्न नहुने उनीहरूको भनाइ थियो।

देउवाले बैठकमा नेकपाका दुवै पक्षबाट आएको प्रस्तावबारे निर्णय लिने अधिकार प्रदेशको संसदीय दललाई दिने प्रस्ताव गरेका थिए। सभापति देउवाको प्रस्तावलाई रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए।