पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हाे भन्ने जनताले चिनुन्-ओली
काठमाडौँ । नेकपाको केपी ओलीनिकट प्रेस संगठन नेपालकाे दोस्राे राष्ट्रिय भेला प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भइरहेकाे छ। भेला बिहान ११ बजेबाट सुरु भएको हो।
‘सम्वृद्घ नेपाल निमार्णकाे लागि पूर्ण प्रेस स्वतन्त्रता’ र ‘राष्ट्रिय स्वााधिनताका लागि प्रेस संगठनका आधार’ भन्ने मुल नारासहित भेलाको आयोजना गरिएको हो। प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा भइरहेको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पाेखरेल, गृहमन्त्री राम बहादुर थापा, ऊर्जा मन्त्री टाेपबहादुर रायमाझी, अर्थमन्त्री बिष्णु पौडेल, काठमाडाैँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य लगायतको उपस्थिति छ।
भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली भने, ‘आज सबैजना राजनैतिक लडाइँ लडिररहँदा सर्वप्रथम हामी हाम्रो विचारमा स्पष्ट हुनुपर्छ। हामी राताे झण्डा फहराउने वाला हाैँ। पेरिसडाँडामा जस्ताे कालाे झण्डा फहराउने हाेइनाैँ।’ उदाहरण दिँदै उनले भने, ‘फिल्ममा हिराे-हिराेईन हुन्छन्। तिनीहरूकाे लभ परेकाे हुन्छ, विवाह हुन्छ तर त्याे केही हाेइन, खाली अभिनय हो। अहिले त्यस्तै भएकाे छ।’
पत्रकारहरूलाई आफूनिकट पार्टीको पक्षमा उभिन हौसला दिँदै प्रधानमन्त्रीले भने, ‘जनतालाई हामीले सुसूचित बनाउनु पर्छ। हामी नेपाली भएर बस्नु पर्छ। तर, के हुनुपर्छ भने साच्चै देशभक्ति हुनुपर्छ। नागरिकता त हाेला तर देशभक्ति हुन जरुरी छ। याे देशकाे हितकाे पक्षमा बाेल्नु पर्छ। मानवजातिको असमानतामा होइन समानताकाे पक्षमा लेख्नुस्। तपाईंहरू याे पार्टीसँग सम्बन्धित भएकाेले म भन्छु ‘समाचार सत्य लेख्नुस्, कसैलाई मन परेन भने पनि गलत कुरा नलेख्नुस्’ तपाईंहरूकाे समाचार पढेर याे चाहिँ याे पार्टीको हाे भन्ने जनताले चिनुन्। तपाईंहरू लाेकतन्त्रकाे पक्षमा लेख्नुस्। देशकाे अहिलेकाे ठूलाे समस्या भनेकाे पितपत्रकारिता हाे।’