देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु: प्रचण्ड
काठमाडौं । दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गर्न तयार रहेको बताएका छन् । उनले आगामी प्रधानन्त्रीको रुममा देउवालाई स्वीकार गर्ने बताएका हुन् ।
प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’
प्रचण्डले अघि भने, ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन ।’