काठमाडौंको कलंकी स्थित खड्का गाउँमा आगलागी, एक जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७७ माघ ६ गते ८:३३
काठमाडौं । काठमाडौंको कलङ्की स्थित खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । चिसोको समयमा जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिए ।
हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको उनले बताएका छन् । खड्काको छाती, पेट र ढाड पुरै जलेको अवस्थामा फेला परेको आफन्तले जनाएका छन् ।
घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए । थाहा पाउँदा खड्काको ज्यान गइसकेको पाइए पनि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।