सम्मानको जगमा टिक्छ दाम्पत्य जीवन
पति पत्नीको सम्बन्धलाई जीवन साथी, अर्धाङ्ग् र अर्धाङ्गिनि, दुई शरिर एक आत्मा, प्राण प्यारी, रथको दुई पाँग्रा , दुई आत्माको मिलन, हाड छालाको सम्बन्ध पूर्नजन्मको सम्बन्ध कन्सट, हबी, खसम, हाफ बेटर जस्ता थुप्रै असख्य नामले सम्बोधन गरिएको हुन्छ । पति पत्नीको सम्बन्ध कर्ममै लेखिएर आएको हुन्छ र ईश्वरलेनै सुनिश्चित गरिदिएको हुनाले यसलाई जन्म जन्मान्तरको सम्बन्ध मानिन्छ भन्ने धर्मग्रन्थमा उल्लेख छ । जुन कूलमा पति–पत्नी एकअर्को सँग प्रशन्न रहन्छन त्यस कुलमा सर्वदा कल्याण हुन्छ भनि उल्लेख गरिएको छ । पति बिना पत्नी र पत्नी बिना पतिको जीवन कहिले पूर्ण हुँदैन। एक अर्कोका साथ र सहयोगनै पति पत्नीको जीवन बिताउने आधार हो । पति पत्नी एक अर्काका सहयोगी र पुरक हुने विश्वास रहेको पाइन्छ । पति पत्नीको सम्वन्ध प्रेम र विश्वासमा टिकेको हुँदा यसले तिनिहरुको सम्बन्ध मजबुत बन्दछ दाम्पत्य जीवन सुखमय हुन्छ ।
पति पत्नीको जीवनमा धेरै चुनौतिहरु आउँदछ कहिले सुख कहिले दुख यस्तो परिस्थीतीमा एकले अर्काको सुख र दुख वुझेर एक अर्कोलाई साथ दिनु पर्छ भन्ने मान्यता सामाजिक व्यवहारिक यर्थातता हो । पति पत्नी भनेको समग्रमा एउटा परिवार र समाज हो जुन सम्बन्धले पूरा परिवारमा महत्वपुर्ण प्रभाव पार्दछ । परिवारीक सुखका लागि धन दौलत, पैसानै चाहिन्छ भन्ने होइन, आमित्य सम्बन्ध र समझदारी, एक अर्को बीच प्रेम , विश्वास भएमा मात्र पारिवारिक जीवनको सार्थकता हुन्छ । त्यसैले भनिन्छ पति पत्नी भनेको एक रथका दुई पाङ्ग्रा हुन र एकै सिक्काको दुई पाटा यो त्यस्तो सम्बन्ध हो । जुनसुकै मोड र जुनसुकै समयमा पनि एकलाई अर्काको सहयोग र साथ अपरिहार्य हुन्छ । पति पत्निको सुखद सम्वन्ध निवा पुर्ण जीवनको परिकल्पना किमार्थ हुन सक्दैन् ।
माथि उल्लेख गरिएका सबै शब्दहरुले समाजमा गन्थन गरिने सबै वोली व्यवहार र कानूनी भाषामा पनि पति र पत्नीको सम्बन्ध भनेको विश्वासमा आधारित भावनात्मक र कानूनी सम्बन्ध हो भन्ने कुरालाई पुष्टि गर्दछ । विवाह पश्चात पति र पत्नी दुवैमा दायित्व सिर्जना हुन्छ । एक अर्कालाई माया ममता गर्ने , सुख दुखमा साथ दिने, सकेको सहयोग गर्ने ,एक अर्काको भावनालाई कदर गर्ने ,एक अर्कोलाई धोका नदिने, पारिवारिक समस्याहरु मिलेर समाधान गर्ने झुठो नबाेल्ने इत्यादि वैबाहिक जीवनका आधारभुत मान्यताहरु हुन् । यी मान्यतालाई पति पत्नी दुवैले अनुसरण गर्न सकेमा मात्र वैवाहिक जीवन सुखद र सुमधुर हुन सक्दछ । वैवाहिक जीवनमा हाल देखिएको समस्याले हाम्रो पारिवारिक संरचना र संस्कार कता जादै छ भन्ने चिन्तन र मन्थन गर्ने वेला आएको छ । समयमै यसलाई ध्यान दिन सकिएन भने वैवाहिक दाम्पत्य जीवनमा ठुलो समस्या आउने आकंलन गर्न सकिन्छ । हाम्रा सन्ततिहरुले वैवाहिक दाम्पत्य सुखद जीवनको अनुभुति गर्न पाउँदैनन् कि भन्ने डरलाग्दो अवस्था एकातिर छ भने अर्कोतीर वैवाहिक दाम्पत्य जीवन सुखद नहुदा यसले परिवार, सन्तान, समाज र समग्र राष्ट्रको उन्नति र विकासमा नकारात्मक असर पर्दछ ।
नेपालको सविधान र कानूनले मानिस स्वतन्त्र र सम्मानको पुञ्ज हो । व्यक्तिगत र पारिवारिक सम्वन्ध पनि स्वतन्त्रता, समानता र सम्मानमै आधारित हुनुपर्दछ । यो सम्बन्ध पराधिनता, लैङ्गिक उच्चता वा निचतामा मापन हुनुहुदैन् । त्यस्तो भएमा व्यक्तित्व विकासका सम्भावनाहरु हराएर जान्छन् । प्रेम सदभाव र विश्वास सवै मरेर जान्छन् । सम्बन्धमा पराधिनता र अधिनस्थाले जरो गाड्छ । सविधानले समानता, सम्मान र विभेदहिनतालाई पारिवारिक र सामाजिक सम्वन्धको आधारको रुपमा स्वीकार गरेको छ । यहि सम्वैधानिक भावभुमिमा मुलुकी देवानी सहिता २०७४ दफा ८५ देखि ९२ सम्म पति पत्नीको अधिकार , दायित्व र कर्तव्यको बारेमा उल्लेख गरिएको छ । सविधानको धारा ३८(६)मा सम्पत्ति तथा पारिवारिक मामिलामा दाम्पत्तिको समान हक हुनेछ भन्ने स्पष्ट भाषामा मौलिक हकको रुपमा अधिकारको सुनिश्चिता गरिएको छ ।
पति र पत्नी बीचको सम्वन्ध सहमति , विश्वास, एकअर्का प्रतिको सम्मान र सदभावमा टिकेको हुन्छ भन्ने मान्यतालाई अन्तराष्ट्रिय कानून, सविधानले आत्मसाथ गरेको छ । महिलामाथि गरिने सबैखाले भेदभाव विरुद्धको उन्मुलन महासन्धी (CEDAW 1979) को धारा १६ मा विवाह र पारिवारिक सम्वन्धको आधार पुरुष र महिला विचको समानतालाई मानेको र विशेष गरेर पति पत्नीको छनौट गर्ने तथा विवाह गर्ने कुरा समानता एवं स्वतन्त्र र पुर्ण सहमतिमा गरिने विषयको प्रत्याभुति गरेको पाइन्छ । नेपालको कानूनले वैवाहिक दाम्पत्य सम्वन्ध भित्र पति पत्नीबीच आपसी प्रेम, सदभाव र समझदारीबाट पारिवारिक जीवन स्थापित गरी जीवनयापन गर्नु पर्ने उल्लेख गरेको छ ।
पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्ने ,पति पत्नीको बासस्थान पतिको घरमा हुने , पति पत्नी एक अर्कोको प्रतिनिधि मानिने, एक अर्कोबिच आफ्नो इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने , आफ्नो सम्पत्ति , आम्दानी तथा हैसियत अनुरुप आपसी समझदारी र सहमतिको आधारमा घर व्यवहार चलाउनु पर्ने , सम्पति वेचविखन गर्दा वा हस्तान्तरण गर्दा दुवैको सहमति गर्नु पर्ने , एक अर्कोको क्षमता, सीप , योग्यताको कदर गरि पेशा वा व्यवसायमा एक अर्कोको सहयोग गर्नु पर्ने उल्लेख गरिएको छ । त्यस्तै गरि सम्मानित सर्वोच्च अदालतका थुप्रै फैसलाहरुमा आफुले विवाह गरी ल्याएकी पत्नीलाई मानबीय व्यवहार गर्नु सम्वन्धीत परिवारको कानूनी र नैतिक दुवै प्रकारको दायत्वि हो ।
कानून विपरित अमानवीय व्यवहार गरी पत्नीलाई घर वस्न नसक्ने वातावरण तैयार गर्ने अधिकार कानूनले कसैलाई पनि दिएको छैन् (निर्णय नं ८८२२,ने.क.प.२०६९,पृष्ठ ७०१) त्यस्तै गरि जीवनको सहयात्रामा एक अर्काको हातेमालो गरी जीवन निर्वाह गर्नुपर्ने जीवन संगीनी (Life Partner) शारीरिक एवं मानसिक अस्वस्थ एवं विकलाङ् भएमा त्यसरी ऐनमा भएको कानूनी मनसायलाई दिग्भ्रमित पारि गरे गराएको विवाह स्वतः बदर हुने अवस्था समेत हुँदा आफूलाई भुक्याई, ढाँटी विहे वन्धनमा वाँधिएकी स्वास्नी मानिसलाई त्याग्न वा अस्वीकार गर्न पाउने अधिकार जीवनको अधिकार (Right of Life) अन्तर्गत व्यक्तिगत अधिकार लिन सकिने सिद्धान्त समेत प्रतिप्रातिद भएको छ ।(निर्णय नं ८१५७, फैसला मिति२०६६/०१/२२) यर्थातमा पति पत्नीबीचको सम्बन्ध आपसी समझदारी र मेलमिलापबाट मात्र सुमधुर हुने हो । अन्यथा यी कुराको अभावमा त्यस्तो सम्बन्ध निरन्तर कायम राख्नुको कुनै औचित्य नरहने । सधै पति पत्नी विच चलेको निरन्तर विवाद भै झगडाले दुवै पक्षबीच शान्तिपुर्ण जीवन व्यतीत गर्ने सम्भावना र अवस्था नभई भइ झगडा र विवाद निरन्तर चलेको अवस्थामा त्यस्तो सम्वन्ध कायम राखी रहनुको कुनै औचित्य नहुनेगरि फैसला भएको छ । (नि.न.८४८७) यसरी पति पत्नीको अधिकार र दायित्व भित्र नयाँ नयाँ विधिशास्त्रले मान्यता समेत पाएको देखिन्छ । यसरी पति पत्नीको पारिवारिक अधिकार भित्र पति पत्नीको सम्वन्धलाई पवित्र वन्धनको रुपमा हेरिएकोले पति पत्नी विच एक अर्कोलाई कुनै पनि विषयमा विश्वासघात गर्न नहुेन र इमान्दार रहनु पर्ने यदि पति पत्नी बीचको सम्वन्धमा इमान्दारी नभएमा, आपसी समझदारी नभएमा कानूनी रुपमा सम्वन्ध विच्छेद गर्न सक्ने विषयलाई कानूनले मान्यता दिइएको छ ।
किन वैवाहिक दाम्पत्य सम्वन्धमा समस्या देखिएको छ ? के कानून अप्रयाप्त छ ?
कानून अप्रयाप्त छैन कानूनले पति पत्नीको अधिकार संरक्षण गरेको छ । तर व्यवहारमा भने पत्नीको अधिकारमाथि अंकुश लगाइएको छ । पारिवारिक मुद्दामा देखिने समस्या भित्र पतिले पत्नीको अस्तित्वलाई स्वीकार गर्न नसक्ने, विवाद भएमा पत्नीको आमा बुबा वा माइती पक्षलाई अपमान गर्नु पर्ने र पत्नीले पतिको बुबा आमालाई सम्मान गर्नु पर्ने । पारिवारिक मामिलामा पत्नीले कुनै सहभागिता लिन नहुने, छोरानै जन्माईदिनु पर्ने , पतिको इच्छा र चाहना बमोजिम हरेक निर्णयमा साक्षी वसिदिनु पर्ने, घर झगडा भएपछि पत्नीनै घर छोडेर जानु पर्ने ,वैवाहिक जीवनमा वाधिएपश्चात पतिका परिवारका सदस्यहरुको इच्छा बमोजिम पत्नी वसिदिनु पर्ने, धेरै वोल्न नहुने, शिर तल गरेर बाेल्नु पर्ने , माइतिवाट दाइजो लिएर नआएकोले घरमा जे छ त्यसैले चित्त वुझाउनु पर्ने , नयाँ सृजना गर्ने हो भने माइतिवाटै लिएर आउनु पर्ने ,पत्नीले जागिर खाएमा घर र परिवारको सम्पुर्ण काम सकेरमात्र कार्यालय जानु पर्ने ,अफिस वाट फर्कदा घरको लागि तरकारी लगायत आवश्यक सामाग्री लिएर आउनु पर्ने,समय भन्दा १० मिनेट ढिलो भएमा चरित्रको प्रमाणपत्र पेश गर्नु पर्ने , अफिसमा फोन गर्दा पत्नीको फोट उठेन भने कारण सहित प्रमाण पेश गर्नु पर्ने । अफिस कार्यालय र व्यापारमा घाटा भएको कारण पत्नीले कुटाई खानु पर्ने, सन्तान कुलतमा लागेमा पत्नीको माइती मावली खान्दान गतिलो नभएको शव्दको प्रहार सुन्नुपर्ने,पत्नी विरामी भएमा घर परिवारलाई दुख हुनाले माइतिमा गएर बसिदिनु पर्ने , कुखुरा ४ बजे वास्दा पत्नी उठनु पर्ने र राति अवेर गरि सुत्ने ओछयानमा जानु पर्ने , “पोथि वासेको ठिक हुदैन्“ “खुट्टा भए जुत्ता जति हजार“ , स्वास्नी मरि नयाँ बाटो खुली जस्ता कति कति शव्द…… जसको कानूनमा कुनै परिभाषा गरिएको छैन , व्याख्या भएको छैन् ।
सविधानले व्यवस्था गरेको सम्मनपुर्वक बाँच्न पाउने अधिकार दिएको कुरा के माथिका शव्दले सम्मान पुर्वक वाँच्न दिएको छ ? व्यतिmको मान प्रतिष्ठामा आँच आउने गरि काम गर्न कानूनले वर्जित गरेको छ , माथिको शव्दमा पत्नीको मान प्रतिष्ठाको कुनै महत्व छैन् । पति र पत्नीको घर कानूनले एउटै हो भन्छ किन पत्नीलाई रातको समयमा घरवाट काखीमा वच्चा च्यापेर हिडनु पर्दछ , पत्नीको घर कहाँ हो त ???सविधान र कानूनमा लेखिएको शव्दमा कहि खोट त छैन् । कानूनले कुटपिट गर्नु अपराधिक कार्य हो भनि परिभाषा गरिएको छ , पतिलाई रिस उठेर हानिदिएको रे पत्नी रिस फयाक्ने कन्टेनर हुन ???
अबको वाटो के हो त ?
मेरो कानूनी क्षेत्रको लामो अभ्यास, पारिवारिक कानूनको क्षेत्र र अनुभवको आधारमा हेर्दा हामी हाम्रै वैवाहिक दाम्पत्य जीवनलाई कता ढकेल्दै छौ । मेरो छोरा छोरीले वैवाहिक दाम्पत्यको सुखद जीवन अनुभव गर्न पाउँछन् की पाउँदैन् । पति पत्नीको सम्वन्ध विच्छेद भएका कारण छोरा छोरीलाई आमा वावुले भावनात्मक Blackmail गरेका त छैनौं । विवाह गरेर परिवार वसाउन हुदैन भन्ने सन्देश दिएका छौ छोरा छोरीलाई ललिपप दिएर वावु वा आमा संग वस भनि फकाउन बाध्य भएका छौ त्यो छोरा छोरीको हितको लागि होइन आफनो स्वार्थ र इगोलाई सुपर देखाउन हो जुन कुरा हाम्रो संस्कार र समाजलाई सुहाउने कुरा होइन् ।
पति र पत्नी विना घर चल्दैन, सृष्टि धानिदैन , पति पत्नी सृष्टिका जननी हुन् तसर्थ वैवाहिक जिवनमा रिस राग छोडि वैवाहिक जीवन सुन्दर वनाउन पति र पत्नी मिलौ । समाजमा पति पत्नीको सम्वन्धको राम्रो उदाहरणीय ज्योति छरौ । तपाँइको पत्नीले आफनो जन्म दिने घर जन्माएको वावु आमा , दाजु भाई , परिवार सवैलाई पर छोडेर तँपाइको जीवन र सुन्दर वनाउने सपना वोकेर आएको छ । साथ दिनोस ,सम्मान गर्नुहोस ,पत्निलाई विश्वास गर्नुहोस् ,
पत्नीले पनि पतिको परिवार तपाइले छोडेर आएको आमा वुवालाई पतिको घर भित्रै खोज्नुहोस संगै वसेर साथ दिनुहोस , पारिवारिक मामिलामा समान सहभागिता दिनुहोस , तपाइँको सन्तानलाई वावु र आमा दुवैको न्यायो काखमा स्पर्स गर्न दिनुहोस । हिजो वैवाहिक जीवनमा बाँधिदा, प्रेम सम्वन्धमा वाधिदाँ तिमी विना बाँच्न सक्दिन भन्ने तिमि मरे म पनि मर्छु भन्ने कसम खाएका हामी दाम्पत्य सम्वन्धमा आएपछि ति वाँचा कता गए के ति वाँचा, वोल्नको लागि वोलिएको शव्द वा केवल भ्रम छरिएका थिए ? वा वास्तवीकता अरु प्रश्न र उत्तर तपाईहरु माझ वैवाहिक दाम्पत्य जीवन सुन्दर र यसलाई कसरी सुन्दर वनाउने यो तपाँइहरुको हातमा छ ।
लेखक-अधिवक्ता विष्णु वस्याल
नेपाल ल क्याम्पसको उपप्राध्यापकका साथै नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको सचिव हुनुहुन्छ । उहाँ महिला, बालबालिका, मानवअधिकारका साथै अधिकारका क्षेत्रमा वकालत गर्दै आउनु भएको छ ।