बुधबार, चैत ८, २०७९

१० नेपालीद्वारा के टू हिमालको सफल आरोहण गर्दै विश्व रेकर्ड कायम

फ्ल्यासन्युज नेपाल२०७७ माघ ४ गते १०:१७

काठमाडौं । दश सदस्यीय नेपाली युवाहरुको टोलीले विश्वको दोस्रो उच्च शिखर केटू हिमालको सफल आरोहण गर्र्दै विश्व रेकर्ड कायम गरेका छन् । उनीहरुले पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेका हुन् । हाल सम्म अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कसैले आरोहण गरेका थिएनन् ।

शनिबार साँझ सवा ५ बजे सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोलीले शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिए।

 

८ हजार छ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो के टू हिमालमा अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक सय किलोमिटरको गतिमा हावा चल्ने शेर्पाले जानकारी दिए। सफल आरोहणपछि आरोही निर्मल पूर्जाले सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव जातिका लागि इतिहास बनाइयो उनले नेपालका लागि इतिहास बन्यो भनेर उल्लेख गरेका छन् ।

 

के टू हिमालको सफल आरोहण गर्नेहरुमा आरोही निर्मल पूर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । उनीहरु फरक-फरक तीनवटा आरोहण दलबाट गएका हुन् ।

सबै आरोही शनिबार १० बजे चौथो शिविर फर्किएका छन् । विगत ३४ वर्षयताको हिउँदयाममा के टू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेका थिए तर उनीहरू के टू हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् ।

 

तपाइँको प्रतिक्रिया