भारत भ्रमणले दुई देशबीचको सम्बन्ध मजबुत पार्न योगदान पुगेको छ- मन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई मजबुत पार्न योगदान पुगेको बताएका छन् ।
संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्केका मन्त्री ज्ञवालीले नेपाल र भारतबीच रहँदै आएको सम्बन्ध थप मजबुत भएको दाबी गरे । उनले नेपाल भारतबीचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौता पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय भएको पनि जानकारी दिए । कोरोना खोप दिन भारतले नेपाललाई प्राथमिकतामा राखेको पनि मन्त्री ज्ञवालीको दाबी छ ।
त्यसैगरी कोरोना संक्रमणका कारण बन्द रहेका हवाई तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति पनि भएको छ । बैठकमा रक्सौल, काठमाडौँ रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकाले शिघ्र काम शुरु गर्ने सहमति भएको छ ।
भैरहवामा एकीकृत चेकपोष्टको काम शिघ्र शुरु गर्ने विषयमा कुराकानी भएको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले महाकालीमा निर्माणाधिन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको पनि बताए ।