इन्डोनेसिया भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुग्यो
एजेन्सी । इन्डोनेसियाको सुलावेसी द्वीपमा आएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्दार जारी रहेकाले मृतकको संख्या बढनसक्ने बताइएको छ । मामुजु नगरस्थित एउटा अस्पतालका केही भाग भत्किएपछि कम्तीमा आठ जनाको मृत्यु भएका छ ।
सो पाँचतले अस्पतालबाट ६० जनालाई सुरक्षित उद्धार गरिएको थियो । शुक्रबार बिहान ६ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा सुलावेसीमा ठुलो जनधनको क्षति भएको छ । भग्नावशेषमा पुरिएका मानिसहरुको खोजी जारी रहेको छ ।
भूकम्पका कारण सयौं मानिस घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् । भूकम्पलगत्तै सुनामी आउनसक्ने भन्दै तटीय क्षेत्रका हजारौं सर्वसाधारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोदोले भूकम्पबाट भएको क्षतिप्रति शोक व्यक्त गर्दै उद्धार तथा राहतमा कमि आउन नदिन सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
विनाशकारी भूकम्प र सुनामीका कारण हरेक वर्ष इन्डोनेशिया प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो ।