न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै रिट निवेदकले उठाए प्रश्न
काठमाडौं । प्रतिनिधि सभा विघटनको विषय सर्वाेच्च अदालतमा विचारधिन रहेकै अवस्थामा न्यायाधीशहरुले विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै रिट निवेदकहरुले प्रश्न उठाएका छन् ।
रिट निवेदक तथा विघटित प्रतिनिधिसभा सदस्य शशी श्रेष्ठले पुस २६ र २७ गते ४ न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमा आपत्ति जनाएकी हुन् । उनले मुद्दा चलिरहेको बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा रहेका न्यायाधीशहरुले भेट्नुले गम्भीर प्रश्न उठेको भन्दै आपत्ती समेत जनाएकी छिन् ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, दिपक कार्की, मिरा खड्का र हरिकृष्ण कार्कीले प्रधानमन्त्रीलाई भेट्नु शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको भन्दै संवैधानिक इजलासमा गम्भीर प्रश्न उठाएकी छिन् ।
यस्ता गतिविधिले जनतामा न्यायालयप्रति विश्वास टुट्ने श्रेष्ठको भनाइ थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यस्ता कुरा इजलासमा नराख्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।