स्याङजाको वालिङ नगरसभाद्वारा वडा टुक्राउने प्रस्ताव पारित
स्याङजा । वालिङ नगरपालिकाको मंगलबार बसेको नवौं नगरसभाले वडालाई टुक्राउने प्रस्ताव पारित गरेको छ। पालिकाभित्र अहिले कायम १४ वडालाई विभाजन गरी १५ वटा वडा कायम गर्ने लगायतका विभिन्न कार्यसूचीमा छलफल गरी पारित गरेको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए।
उनले भने, ‘नगरको निर्णय अब गण्डकी प्रदेशसभामा पठाइन्छ। प्रदेशबाट पारित भएपछि केन्द्रमा र केन्द्रले पारित गरेपछि वडा विभाजनको प्रक्रिया सुरु हुन्छ।’ आर्थिक ऐन २०७७ मा करको दर निर्धारण सम्बन्धी, न्यायिक समितिको कार्यविधि विधेयक २०७७, २०७७र०७८ को स्वीकृत वार्षिक बजेट पूँजीगततर्फ योजनागत बजेट रकमान्तर सम्बन्धी प्रतिवेदन उपप्रमुख कल्पना तिवारीले पेश गरेकी थिइन्।
यसैगरी, वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक गीता रनपालले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७७ र नगर प्रवक्ता केदार काफलेले गरेको वडा विभाजनको प्रस्तावका निर्णयहरुलाई नगरसभाले पारित गरेको हो।
भौगोलिक अवस्थाले ठूलो र विकट पनि भएकाले १४ लाई विभाजन गरी दुई वटा वडा कायम गर्नेका लागि केही महिनाअघि सोही वडाबासीका एकहजार ६ जनाको हस्ताक्षर सहित नगरपालिकामा बुझाएको वडाअध्यक्ष झम्बरबहादुर श्रेष्ठले बताए।