परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार भारत भ्रमणमा जाँदै
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार भारत जाने भएका छन् । दुई दिनसम्म नयाँदिल्लीमा हुने बैठकमा सहभागी हुन ज्ञवाली बिहीबार त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्रालयले जनाएको हो ।
तीन दिने भारत भ्रमण कोरोना भाइरस संक्रमण विरुद्धको खोप खरिद, लामो समयदेखि थाती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना,कोरोना भाइरस बिरुद्ध सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणले सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नक्सा प्रकाशन गरेपछि चिसिएको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।
ज्ञवालीको भ्रमणपाछि उच्चस्तरमा हुन नसकेका द्विपक्षीय भ्रमणले पनि निरन्तरता पाउने अपेक्षा गरिएको छ । संयुक्त आयोगको बैठकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्यालका साथै अर्थ, ऊर्जा, सिँचाइ तथा जलस्रोत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।
प्रतिनिधिसभाको विघटनपछि विकास भइरहेका घटनाक्रमका माझ परराष्ट्रमन्त्रीबाट हुन लागेको भारतको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।