मंगलबार, जेठ १६, २०८०

कविता- आँसुको मूल्य

फ्ल्यासन्युज नेपाल२०७७ पुष २८ गते ९:३०

रमेश घिमिरे
हाल-अष्ट्रेलिया

मेरो जीवन क्षतविक्षत छ
आँसु सुकि सक्यो
मान्छे काटेको रगतको छिटा ……दिमाग भरीछ

चक्कु लिएर लुगा सिउने धृष्टता गरें
त्यहि विदेशमा…….विफल वाद लिएर हिँडे
दुर दराजका…….अपठितलाई म झैं मूर्ख बनाएँ
तिनका आँसु कोसीको पानी झैं ठाने
पश्चातापको ज्वाला त छ !
मान्छे काटेको सपनामा …….. झल्झलि छ

सिउँदो पुछिएको श्राप मनभरि छ
उमेर डल्दै जाँदा
आँसुको मूल्य अलिअलि ……बुझ्दैछु
बूढो शरीरमा आँसु अझै बाँकी रहेछ
सत्र हजारको श्रापले उठाएको
………….आँसु अझै केही थोपा रहेछ ।

धर्ममारा म,
गति छाडा म
धर्म मान्नु हुन्न भनि-क्रियापुत्री काट्दै हिड्ने म
……..गोत्र र संस्कार छोडेको म
त्यहि गोत्र …… शुक्रकिटमा सर्दै
जम्मिएको मेरो छोरो
अकस्मात
पोहोर साल मर्यो
श्रापले सुकाउन बाँकी आँसु
तरक्क दुई आँखाबाट झर्‍यो
धर्म मारा म,
पण्डित पढाएरै छोरो पोलें
हठात म …..झल्याँस भएँ……

मेरै कारण…….छोराछोरी गुमाएका मातापिता सम्झे
तिनका निल्न नसक्ने घाँटीमा अट्कीएका आँसु सम्झेँ
यसो दायाँ हेरें
सीताको भक्कानिएको मुठु ……..देखें
हठात म झल्याँस भएँ

मेरै कारणले सिउँदो रितिएका आमाहरू…… सम्झेँ
एकबारको मेरो जीवन क्षतविक्षत छ …….
पश्च्यातापको घडा भरिएको छ …
दुनियाँका अघि गल्ति स्विकार्दै रून सक्दिन ….
असफल सावित मेरो वादले मलाई रोक्छ
श्रापैश्रापले भरिएको मेरो …..अंहले मलाई रोक्छ

तपाइँको प्रतिक्रिया