सर्वाैच्चको फैसला नआउँदा सम्म निर्वाचन प्रक्रियाका काम रोक्न आयोगसँग दाहाल-नेपाल पक्ष माग
काठमाडौ । नेकपाको दाहाल नेपाल पक्षले निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार अध्यक्षद्धय पुष्पकमल दाहाल र माधब नेपालसहित केही शिर्ष नेताहरु निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडी बढाउँदा प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका काम रोक्न माग गरेको हो । सवोच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको नेकपाका नेताहरुले बताए ।
दाहाल नेपाल समूहले निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने, स्थायी मतदान केन्द्रमा तयारी गर्ने लगाएतका काम गरिरहेको भन्दै आफुहले सवै प्रकारका निर्वाचन केन्द्रीत कार्य रोक्न ध्यानाकर्षण गराएको हो । साथै निर्वाचन आयोगमा रहेका नेकपासँग सम्बन्धित कागजातहरुको प्रतिलिपि पनि माग समूहले गरेको छ ।
२०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएका र त्यसपछि अद्यावधिक गरिएका सबै कागजात दाहाल नेपाल समूहले माग गरेको हो । दाहाल–नेपाल समूहले आयोगलाई आवश्यक भएका सबै कागजात उपलब्ध गराउन तयार भएको भन्दै पार्टीको आधिकारिकताको टुंगो छिटो लगाउन पनि आग्रह गरेको छ ।
निर्वाचन आयोगमा नेकपाको आधिकरिकता र निर्वाचन चिन्ह सम्बन्धी विवाद पनि विचाराधिन अवस्थामा रहेको छ । सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको थियो । त्यसपछि आयोगले निर्वाचन तयारीका लागि तयारी अघि बढाएको छ ।