बिहीबार, जेठ १८, २०८०

हिमानी ट्रस्टद्वारा ओलीको गृह जिल्ला झापामा राहत वितरण

फ्ल्यासन्युज नेपाल२०७७ पुष २६ गते ९:०२

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रस्टले शनिवार झापाको भद्रपुर पृथ्वीनगरस्थित गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धालाई राहत वितरण गरेको छ । पञ्चायतकालमा राजा महेन्द्रले बसाएको गरीब बस्तीमा राहत वितरण गरिएको हो ।

झापाको भद्रपुर नगरपालिका दुई पृथ्वीनगरमा रहेको सिंहदेवी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा राजपरिवारका तर्फबाट पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका थिए । कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी, पारस हिमानीका पुत्र हृदयेन्द्रले गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धालाई राहत वितरण गरेका थिए । पैसठ्ठी परिवारका बालबालिकालाई न्यानो कपडा तथा बृद्धबृद्धालाई स्लिपिङ ब्याग ट्रस्टले उपलब्ध गराएको हो ।

राजा महेन्द्रले पुनर्वास कम्पनीमार्फत बसाएको बस्तीका गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धाका लागि राहत उपलब्ध गराइएको हो । राहत पाएपछि स्थानीयमा खुसी छाएको छ । हिमानी ट्रस्टले मानवीय सहायताको क्षेत्रमा काम गरिरहेको जनाएको छ । कार्यक्रममा पूर्व राजा समेत उपस्थित भएपछि स्थानीयले राजसंस्थाको पक्षमा नारावाजी गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र तथा पूर्व राजपरिवारका सदस्य केही समयदेखि झापा दमकस्थित निवासमा बस्दै आएका छन ।

 

तपाइँको प्रतिक्रिया