प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै
फ्ल्यासन्युज नेपाल२०७७ पुष २५ गते ११:१४
काठमाडौं ।नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन थालेको हो ।
कांग्रेसले आज देशभरका ३ सय ३० ठाउँमा विरोधसभा तथा प्रदर्शन गर्दैछ । कांग्रेसका नेताहरु आफ्नो क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुनेछन । काठमाडौंमा पनि विभिन्न ठाँउमा प्रदर्शन तथा सभा आयोजना गरिएको छ ।
बानेश्वरमा प्रकाशमान सिंह, चाबहिल र कपनमा गगन थापा तथा प्रदर्शनीमार्गमा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने नेपाली कांग्रेसले जानकारी दिएको छ ।
कांग्रेस केन्द्रिय समितिको निर्णय अनुसार कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको हो । यसअघि कांग्रेसले पुस १३ गते विघटनविरुद्ध देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।