अल्पमतमा परेपछि ओलीले राजीनामा दिनुपर्थ्यो- बामदेव गौतम
काठमाडौं । नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रतिनिधिसभा विघटनलाई संवैधानिक भएको बताएका छन् ।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरूको विषयमा संवैधानिक इजलासमा बहस हुन थालेकाले त्यसलाई असंवैधानिक भन्न नहुने बताएका हुन् । सर्वोच्च अदालतमा परेका रिटहरू संवैधानिक इजलासमा लगेपछि असंवैधानिक भन्न नमिल्ने उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले नै पार्टीमा विभाजनको अवस्था आएको गौतमको दावी छ । उपाध्यक्ष गौतमले आफ्नो स्वार्थअनुसार संविधानलाई बदनाम गर्न नहुने स्पष्ट पारे । पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री ओलीले संसद भंग गरेको आरोप उपाध्यक्ष गौतमले लगाए ।
उनले प्रधानमन्त्री ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको पनि बताए । उनले अविश्वास प्रस्ताव ल्याउने र संसद विघटन गर्ने दुबै समूहले आफुसँग परामर्श नगरेको गुनासो पनि गरे ।
गौतमले आफू नेकपाको कुनै समूहमा नरहेको र अझै पार्टी एकताका लागि प्रयासरत रहेको बताएका छन् । त्यसका लागि संगठनात्मक स्वरुप निर्माणमा लागेको उनको भनाइ छ ।