शनिबार, मंसिर २४, २०७९

भारत लैजाने क्रममा तीन बालिकाको उद्धार

फ्ल्यासन्युज नेपाल२०७७ पुष २३ गते १३:२६

काठमाडौं । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट तीन जना बालिकाको उद्धार गरिएको छ । आर्थिक प्रलोभनमा पार्दै जागिर लगाइदिने बहानामा भारत लैजादै गर्दा माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो ।
सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा उक्त टोलीले सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिए । सङ्खुवासभा घर भएर अहिले काठमाण्डौ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाण्डौमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौं लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

शेर्पाले भारतको दार्जिलिङमा काम खोजिदिएको र महिनाको नौ हजार रुपैयाँ तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाएको सोधपुछका क्रममा खुलेको ढकालको भनाइ छ । उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएको छ ।

पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा रहेका दर्जनौँ चोर बाटाको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

 

तपाइँको प्रतिक्रिया