शुक्रबार, जेठ २६, २०८०

मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुग्नुभयो- नेपाल

फ्ल्यासन्युज नेपाल२०७७ पुष २१ गते १८:४४

काठमाडौं । दाहाल नेपाल समूह नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना गरेका छन् । अध्यक्ष नेपालले ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मुलुकका लागि घाँडो भएको अभिव्यक्ति दिएका छन् ।

मंगलबार जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले उक्त टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरूलाई गरेका शब्दवाण सुनेर आफूलाई पोल्ने गरेको समेत बताए । त्यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देशभित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरि बोल्ने प्रवृत्तिले आफूहरूलाई शिर निहुर्‍याएर बस्नुपर्ने अवस्थामा पुर्‍याएको समेत बताएका छन् ।

उनले भने, ‘संसदमा उहाँले विपक्षी पार्टीहरूसँग, विपक्षी नेताहरूसँग गरिएका शब्दवाणहरू सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देशको अभिभावक भएको प्रधानमन्त्रीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने कुरा विचार नगरिकन बोल्ने कुराले हामीलाई पोल्थ्यो । हामी टाउको उठाएर ताली बजाउने होइन शिर निहुर्‍याएर झोक्रिने अवस्था पैदा हुने गर्दथ्यो । हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको दलको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुग्नुभयो ।’

प्रधानमन्त्री ओलीले नागरिकका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्टाचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चेर चल्ने कुरामा पार्टी भित्रबाट विरोध भएको उनले बताए। नागरिकको हितमा काम नगर्ने तर भ्रष्टाचार मौलाउने भूमिका खेल्ने प्रवृत्तिलाई सुधार्न पार्टीमा कुरा उठाएको पनि नेता नेपालको भनाइ छ ।

तपाइँको प्रतिक्रिया