शनिबार, असोज १५, २०७९

दाहाल-नेपाल समूहद्वारा प्रदेश-२ नेकपा संसदीय दलका नेतामा मण्डल हटाएर महतो चयन

फ्ल्यासन्युज नेपाल२०७७ पुष २१ गते १७:२८

काठमाडौं ।नेकपा दाहाल–नेपालका १९ जना सांसदले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । मंगलबार जनकपुरमा बसेको संसदीय दलको बैठकले दलका नेतामा शत्रुघन महतोलाई चयन गरेको हो ।

मण्डल नेकपा ओली र महतो नेकपा दाहाल–नेपाल पक्षका प्रदेश सांसद हुन् । संसदीय दलको नेतामा एकल उम्मेदवारी परेपछि बसेको बैठकले महतोलाई दलको नेतामा निर्विरोध रूपमा चयन गरेको हो । दलका नेताबाट मण्डललाई हटाइएको र दलका नयाँ नेता महतोलाई चुनिएको जानकारी सभामुख सरोज यादवलाई मंगलवार नै जानकारी गराएको छ ।

मगलबार नै बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले सत्यनारायण मण्डलविरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो । उपनेता रामकुमार यादवको अध्यक्षतामा बसेको दलको बैठकले अविश्वास प्रस्ताव पारित गरेको हो । मण्डल ओली पक्षका नेता हुन । प्रदेश दुई संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतकमा सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली रहेका छन् ।

प्रदेश नम्बर २ मा नेकपाका ३२ जना सांसद रहेका छन् । नेकपा दुई खेमामा विभाजित बनेपछि नेकपा दाहाल–नेपालसँग बहुमत १९ जना सांसद र नेकपा ओली सँग १३ जना सांसद छन् । विभाजित भएसँगै नेकपाले प्रदेश २ को प्रमुख प्रतिपक्षी दलको हैसियत पनि गुमाएको छ । केन्द्रमा पार्टी विभाजन भएपछि त्यसको असर प्रदेशमा पनि देखिन थालेको छ ।

तपाइँको प्रतिक्रिया