शुक्रबार, असोज २१, २०७९

प्रभु साहको गाडीले पैदलयात्रुलाई ठक्कर दिएर भाग्यो

फ्ल्यासन्युज नेपाल२०७७ पुष १८ गते १५:४३

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले एक जना पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । शनिबार सर्लाहीको हरिवनमा मन्त्री साहको गाडीले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएर भागेको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले ठक्कर दिएर भागेपछि स्थानीयहरुले घाइतेको उद्धार गरि स्वाभिमान अस्पताल हरिवनमा उपचारका लागि भर्ना गरेका छन् । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार पश्चिमबाट पूर्वतर्फ झण्डा हल्लाउँदै आएको गाडीले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै घाइतेको उद्धार गर्न लाग्दा गाडी भागेको उनले बताए ।

मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । ठक्कर दिने गाडीको अल्फाबेट देख्न नपाएका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि मन्त्री साह चढेको गाडी रहेको फेला परेको थियो । प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरे ।

तपाइँको प्रतिक्रिया