शनिबार, मंसिर २४, २०७९

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै, संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची

फ्ल्यासन्युज नेपाल२०७७ पुष १७ गते ८:००

काठमाडौं । राष्ट्रियसभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आजदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो ।

प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक संघीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । अपराह्न चार बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । संघीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि कायम रहेको भौतिक दूरीको प्रबन्धलाई पनि थप व्यवस्थित बनाइएको छ ।

सचिवालयले अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो । सार्वजनिक सम्भावित कार्यसूचीमा अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ ।

यस्तै मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराइनेछ । यस्तै बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने सम्भावित कार्यसूची रहेको छ । यस्तैै अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी अधिवेशन नभएको अवधिमा सरकारको सिफारिसमा विभिन्न समयमा जारी गरेका सातवटा अध्यादेश पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै सदनको अधिवेशन नभएको अवधिमा निधन हुनुभएका बहालवाला तथा पूर्वसांसदको निधनमा पनि शोक प्रस्तावको सम्भावित कार्यसूची रहेको छ ।

तपाइँको प्रतिक्रिया