बिहीबार, असोज २०, २०७९

भोली बस्न लागिएको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची तय

फ्ल्यासन्युज नेपाल२०७७ पुष १६ गते १८:२७

काठमाडौ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार दिउँसो चार बजे बस्ने राष्ट्रिय सभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको हो ।

बैठकमा अधिवेशन आह्वान, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाईनेछ ।  राष्ट्रिय सभाका समितिहरुको गठन सम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेश हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७७ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले औषधी तेस्रो संशोधन अध्यादेश २०७७ पेश गर्ने तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रतिनिधि सभा सदस्यद्धय सानु सिवा र सूर्यबहादुर के।सी।, प्रतिनिधिका पूर्व सदस्य ओमकारप्रसाद गौचन र राष्ट्रिय सभाका पूर्व सदस्यद्धय दिपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधनमा राष्ट्रिय सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

तपाइँको प्रतिक्रिया