केपी ओलीलाई केन्द्रीय सदस्यबाट हटाएका छैनौं अझै सुध्रिने अन्तिम मौका छ- नेपाल
काठमाडौं । दाहाल नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिने मौका रहेको बताएका छन् । प्रतिनिधि सभा विघटन पश्चात आन्दोलनरत दाहाल नेपाल समूहको आजको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले ओली सुध्रिने विश्वास व्यक्त गरेका छन् ।
संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’
ओलीलाई लक्षित गर्दै नेता नेपालले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’
उनले प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको ताए । उनले भने, ‘गल्ती भयो भन्ने स्वीकार गर्नुहुन्छ, असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ र पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने सबै विषयमा छलफल गर्न तयार छौं ।’