मंगलबार, मंसिर २०, २०७९

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा पदमुक्त

फ्ल्यासन्युज नेपाल२०७७ पुष १४ गते १४:१६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम बोहरालाई आज पदमुक्त गरेको उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

बोहरा नेकपामा केपी शर्मा ओली निकट मानिन्छन् । प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले बोहराको स्थानमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक नेकपाका ३८ सांसद छन् ।

प्रदेशसभामा नेकपाको दाहाल–नेपाल समूह स्पष्ट बहुमतमा छ । प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिनेमा दाहाल–नेपाल पक्षमा ३० भन्दा बढी छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका १२ र राजपाका दुई सांसद छन् । नेकपा केन्द्रमा विवाद पछिल्लो पटक प्रदेशसभामा पनि सरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि यसअघि प्रचण्ड–नेपाल पक्षका एक मन्त्री हटाउनुभएको थियो । मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ ।

बागमति प्रदेशका मुख्यमन्त्रीविरुद्ध पनि प्रचण्ड–नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया