९ महिनापछि सवारी अनुमतिपत्रका लागि फारम खुल्यो
काठमाडौं । नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुला भएको छ ।
कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम मङ्गलबार देखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिएका छन्।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरेको उहाँले बताउनुभयो । अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको र अब नियमित परीक्षा हुने पनि उहाँले बताउनुभयो ।
अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०र५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि निर्देशक भुसालले जानकारी दिनुभयो ।
लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने समस्या देखिएको र समस्या समाधानको प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।