प्रचण्डलाई भेट्न चिनियाँ टोली खुमलटार पुग्यो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न चिनियाँ विशेष टोली खुमलटार पुगेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न खुमलटार पुगेकाे हाे ।
नेपकाको आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा विभाजितभएपछि विवाद साम्य पार्न चिनियाँ कम्युनिस्ट पार्टीको विशेष टोली काठमाडौं आइपुगेको हो । आयतबार एयर चाइनाको चार्टर विमानबाट काठमाडौं उत्रनासाथ चिनियाँ दूतावासमा राजदूत हाउ यान्छीबाट वस्तुस्थितिको ‘ब्रिफिङ’ लिएर उपमन्त्री येचौको टोली राष्ट्रपति भण्डारीलाई भेट गर्न शीतलनिवासमा पुगेको थियो ।
‘झन्डै आधा घण्टा लामो भेटवार्ताको विषयवस्तुबारे जानकारी गराइएको छैन,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘यो उच्च प्रतिनिधिमण्डल आउनेबारे गत साता नै चिनियाँ राजदूत यान्छीले अवगत गराइसकेकी थिइन्।’