युरोपेली संघद्वारा कोरोनाविरुद्धको खोप दिन शुरु, २७ वटै सदस्य राष्ट्रमा खोप वितरण
एजेन्सी। कोरोना भाइरस संक्रमण विरुद्ध लड्नका लागि युरोपेली संघ ‘इयू’ले खोप दिन शुरु गरेको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप इयुका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको छ ।
युरोपेली संघ अन्तर्गतका राष्ट्रहरूमा खोप कार्यक्रम आइतवारबाट शुरु भएको हो । युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले खोप प्राप्त हुनासाथ सबै देशमा लगाउने काम सुरु भएको जनाएकी छिन् ।
युरोपेली औषधि निकाय र युरोपेली आयोगले जर्मन अमेरिकी फाइजर र बायोएनटेक खोपलाई स्वीकृति दिएसँगै खोप दिने कार्य शुरु गरिएको हो । इयूले खोपका विभिन्न कम्पनीहरूबाट दुई अर्व भन्दा धेरै मात्रा प्राप्तिका लागि सम्झौता सुनिश्चित गरिसकेको छ ।
युरोपमा हालसम्म तीन लाख ३५ हजारको कोरोनाका कारण मृत्यु भएको छ । एक करोड ४० लाख मानिस संक्रमित भएका छन । भाइरसको नयाँ प्रकार देखिएपछि गत साताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन् ।
इयुका सबैजसो सदस्य राष्ट्रमा कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ । भाइरसको अझ बढ्ता संक्रामक प्रकार विभिन्न युरोपेली देशसहित क्यानडा अनि जापानमा समेत पुष्टि भएका बेला खोप लगाउन सुरु गरिएको हो ।