शनिबार, मंसिर २४, २०७९

प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेसले प्रदर्शन गर्दै

फ्ल्यासन्युज नेपाल२०७७ पुष १३ गते ८:१२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरुद्ध मुलकभर प्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसले सोमबार देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोधमा प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेसले प्रदर्शन आयोजना गरेको हो ।

प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् । कांग्रेस सभापति देउवाले भक्तपुरको कार्यक्रमलाई र वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

कांग्रेस नेता गगन थापा नेपालगञ्ज र प्रवक्ता विश्वप्रकाश शर्मा भने काठमाडौं क्षेत्र नम्बर दुईको विरोध प्रदर्शनमा सहभागी हुने भएका छन् ।

कांग्रेसले काठमाडौंका विभिन्न १५ ठाउँमा आज प्रदर्शन र सभा आयोजना गरेको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेलले अपिल प्रकाशित गरेर प्रदर्शनमा सहभागी हुन सबै लोकतन्त्रवादीलाई आग्रह गरेका छन् ।

कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेर आन्दोलन घोषणा गरेको हो । संसद पुनर्वहाली र निर्वाचनको मुद्दामा भने कांग्रेसले सर्वोच्च अदालतको आदेश कुर्ने जनाएको छ । यसअघि मंसिर २९ गते कांग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।

तपाइँको प्रतिक्रिया