मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं । बहुमत प्राप्त दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेशसम्म पुगेको छ । केहि दिन अघि बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी रेहका छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको जनाइएको छ ।
उक्त समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ ।अविश्वास प्रस्तावको तयारीमा अगुवाइ गरेका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोलाई शनिबार साँझ मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना छन् । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन्