बर्दियामा बाघको आक्रमणबाट चार गोरु र एक गाई मरे
फ्ल्यासन्युज नेपाल२०७७ पुष १२ गते ७:३६
काठमाडौं । बर्दियामा बाघको आक्रमणका घटना बढेका छन । दुईमहिना अगाडी पाँच जनालाई बाघले आक्रमण गरि मारेको घटना सेलाउन नपाउदै शुक्रबार बेलुका राजापुर नगरपालिकामा बाघले पाँच घरपालुवा जनावर मारेको छ ।
राजापुर वडा नम्बर १० खैरिचन्दनपुर लालपुरमा बाघले चार गोरु र एक गाई मारेको हो । स्थानीय भुस्नु थारुको गोठमा वाँधेर राखेका गाइ गोरुमाथि बाघले आक्रमण गरेपछि स्थानीय त्रसित भएका छन् ।
पञ्जाको आधारमा जंगली पाटे बाघले आक्रमण गरेको देखिएको सामुदायीक बन समन्वय समिति राजापुरले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बाघ बस्तीमा पसेको अनुमान गरिएको छ । आक्रमणबारे पुरा विवरण आउन बाँकी रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । रिपोर्टका आधारमा क्षतिपूर्ति प्रक्रिया अघि बढाइने प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले बताए ।