बागमति प्रदेशका मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं। संसद विघटनको प्रभाव प्रदेश सरकारसम्म पुगेको छ । शुक्रबार सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे ।
त्यस्तै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलालले पनि पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । यसअघि स्थायी राजधानी घोषणा, बजेटको समयमा समेत मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर भए पनि दर्ता भएको थिएन । ओलीपक्षका मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै अल्पमतमा छन् । मन्त्रिपरिषद्मा बहुमत रहे पनि संसदीय दलमा उनको बहुमत पुग्दैन ।
प्रदेशसभामा नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ जना छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना सांसद छन् । दाहाल–नेपाल पक्षका ४६ जना छन् ।