सोमबार, चैत १३, २०७९

दाहाल-नेपाल समूहद्वारा आन्दोलनको घोषणा

फ्ल्यासन्युज नेपाल२०७७ पुष ९ गते १५:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले केपी ओली समूहका विरुद्ध सशक्त रुपमा अघि बढ्ने निर्णय गरेको छ । केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा दाहाल नेपाल समूहले देशभर आन्दोलन चर्काउने घोषणा समेत गरेको छ ।

बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो । बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन गर्ने जनाएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम तय भएको छ । त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने भएको छ । यो समूहले सोही दिन नै २ बजे पत्रकार सम्मेलन राखेको छ । प्रवक्ता श्रेष्ठले नेपाल बन्दसम्म गर्नेसम्म पनि हुने बैठकमा बताएका छन् । आन्दोलनका कार्यक्रम काठमाडौंमा बढी केन्द्रित हुनेछन् । पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

कार्यक्रमअन्तर्गत ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ ।

तपाइँको प्रतिक्रिया