बिहीबार, जेठ १८, २०८०

माधव जीले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न मिल्दैन: प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७७ पुष ९ गते ८:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाललाई पूर्व एमालेको सम्पतिमा आँखा नगाढ्न भन्दै चेतावनी दिएका छन् । बुधबार साँझ ‘योहो टेलिभिजनको अन्तरवार्तामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ ।’ प्रचण्डले आफूलाई कारबाही गर्नु भनेको हास्यास्पद हो ।

‘प्रचण्डले मलाई पार्टी सदस्यबाट निष्काशन गर्ने ? चार्ली च्याप्लिनको जोकभन्दा माथिल्लो हैसियतको लाग्दैन । प्रचण्डभन्दा कम्तीमा एक दशक अगाडि राजनीतिमा लागेको हुँ । एक दशक अगाडि पार्टी सदस्यता लिएको होला । जसले पाहुनालाई बास बस्न दियो, उसले घरबेटीलाई निकालेजस्तो भएन र ? ओलीले अन्तर्वार्तामा भने । उनले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको पनि दाबी गरे ।

ओलीले पार्टीमा अहिलेको विभाजन माधव नेपाल र झलनाथ खनालसँग नभएर प्रचण्डसँग भएको बताए । त्यसैले पूर्वएमालेको पार्टी कार्यालयमा नेपाल र खनालले दाबी गर्न नमिल्ने र नसक्ने उनले जिकिर गरे । ‘प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव जीले दाबी गर्न मिल्दैन । उहाँ प्रचण्डकीको सेकेण्डमेन भएर हिँड्नुभएको छ । प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ’ ओलीले भने ।

आफूले पेरिसडाँडाको सम्पत्तिमा हक दाबी नगर्ने पनि ओलीले स्पष्ट पारे । ‘विभाजन भएको प्रचण्डजी र मेरो हो । पेरिसडाँडामा मेरो हक दाबी छैन । मैले प्रचण्डजीसँग विभाजन गरेको हो । नेपाल, झलनाथ र नारायणकाजीसँग विभाजन गरेको हैन’ ओलीले भने ।

ओलीले प्रचण्ड-नेपाल समूहको मंगलबारको केन्द्रीय कमिटी बैठकमा देखिएको दृश्यबारे व्यङ्ग्य पनि गरे । एक पार्टी प्यालेसमा भएको बैठकमा प्रचण्ड, नेपाल, खनाललगायतका नेताहरु सोफामा बसेका थिए ।

 

तपाइँको प्रतिक्रिया