मंगलबार, जेठ १६, २०८०

एक्काइसौं शताब्दीको महाभारत

फ्ल्यासन्युज नेपाल२०७७ पुष ८ गते ८:३२

आधुनिक महाभारतको
नयाँ अध्याय
फेरि सिर्जना भयो
लोकतन्त्रको चीरहरण
फेरि हुँदैछ एकपटक
मौन छ कृष्ण
र मनमानी गरिरहेछ द्यूतसभा
देशको अस्मितासँग
खेल्दै पासा
ठटाउँदै तिघ्रा !

दिग्भ्रमित छन् हस्तिनापुरवासी
भ्रमले रूमल्याइएको
कुरुक्षेत्रभरि
सकुनिका जालहरू
यत्रतत्र छन् बिछ्याइएका
अन्योल समयमा
खोज्ने कहाँ गाण्डीवधारी !

राज्यको नाउँमा
राज्यलाई नै बन्दकी राखेर
राज्यको इज्जत ढाक्न
व्यस्त छन् चारैतिर
भेषधारी अर्जुन !

अर्जुन,
आज निस्शस्त्र लाचार छ
गाण्डीव खोसिएको छ
र पटकपटक,
छलिएका छन् हस्तिनापुरवासी
नक्कली पाण्डुपुत्रहरू बाट
अर्जुनको नाममा
यो स्वार्थको महाभारत
गरिरहेछ मनोमानी र
तानाशाहीको खेती
उमार्दै वेतिथि र विकृति !!

तपाइँको प्रतिक्रिया