बिहीबार, मंसिर १४, २०८०

अमेरिकामा कोरोना प्रभावितका लागि नौ खर्ब डलरको प्याकेजमा सहमति

फ्ल्यासन्युज नेपाल२०७७ पुष ६ गते ९:१९

एजेन्सी ।अमेरिकी सांसदहरू करिब नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत भएका छन । महिनौँयताको खिचातानीपछि व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिने प्रस्तावमा सहमति जुटेको हो ।

सहमतिको प्रस्तावमा कंग्रेसमा शुक्रवारसम्म यो सहमतिमाथि मतदान हुने अपेक्षा गरिएको छ । सहयोग रकम खोप र विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्न पनि प्रयोग गरिने बताइएको छ ।

आगामी नौ महिनासम्म सरकारलाई आफ्ना गतिविधिहरू सञ्चालन गर्नका निम्ति यसअघि ल्याइएको एक दशमलब चार ट्रिलियन डलर बराबरको कार्यक्रममा थप गरिएको हो ।

कोरोनासँग सबन्धित थुप्रै सहायता कार्यक्रमको म्याद यो महिनाको अन्तिममा सकिनेभएपछि पछिल्लो सहमति भएको हो । खर्च नपाएर सरकारका काम कारबाही ठप्प हुनसक्ने चिन्तामाझ नयाँ सहमति भएको हो ।

अक्टोबर महिनादेखि नै अस्थायी कोषमार्फत् सरकार सञ्चालन भइरहेको छ । अक्टोबर संघीय सरकारको आर्थिक वर्षको शुरूवाती महिना हो । बेरोजगारले पाउने सुविधामा पहुँच पाउनबाट करिब एक करोड २० लाख अमेरिकीहरू वञ्चित हुन लागेका थिए ।

पछिल्लो तथ्यांक अनुसार बेरोजगारले पाउने सुविधाका लागि गत हप्ता आठ लाख ८५ हजार अमेरिकीले आवेदन दिएका छन । यो संख्या सेप्टेम्बर महिनायताकै उच्च हो ।

तपाइँको प्रतिक्रिया